दफा ३४
जाँचपासपछि परीक्षण गर्न सकिने
(१) निकासी वा पैठारी भएको मालवस्तुको सम्बन्धमा देहायका कुराहरु यकीन गर्नका लागि महानिर्देशक वा भन्सार परीक्षकले कुनै निकासीकर्ता वा पैठारीकर्ताको मालवस्तु खरिद, बिक्री, निकासी वा पैठारी सम्बन्धी खाता, स्रेस्ता अभिलेख वा अन्य यस्तै कागजात, बैङ्क अभिलेख, कम्प्यूटर प्रणाली लगायत निजको व्यवसायसँग सम्बन्धित सम्पूर्ण अभिलेख परीक्षण गर्न सक्नेछः-

(क) दफा १८ को उपदफा (७) बमोजिम मालवस्तु घोषणा गरे नगरेको,

(ख) घोषणा बमोजिम मालवस्तु भए नभएको,

(ग) मालवस्तुको भन्सार मूल्य यथार्थ भए नभएको,

(घ) मालवस्तुको वर्गीकरण उपशीर्षक ठीक भए नभएको,

(ङ) मालवस्तु निकासी वा पैठारी गर्दाका बखत प्रचलित कानून बमोजिम बुझाउनु पर्ने महसुल बुझाए नबुझाएको,

(च) यस ऐन वा अन्य प्रचलित ऐन बमोजिम पूर्ण वा आंशिक भन्सार महसुल छुट वा सुविधामा पैठारी गरेका मालवस्तु उद्देश्य बमोजिम प्रयोग भए नभएको र सम्बन्धित व्यक्तिले पैठारी गरे नगरेको,

(छ) मालवस्तु पैठारी गर्दा प्रज्ञापनपत्र, खरिद बीजक वा पैठारी सम्बन्धी अन्य कागजातमा उल्लेख गरेका नाप, आकार, एकाई र निजको खरिद खाता, बिक्री खाता, बिक्री बीजकमा उल्लेख गरिएका नाप, आकार र एकाईमा एकरुपता भए नभएको ।

(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा मालवस्तुको भन्सार मूल्य फरक परेको वा वस्तु वर्गीकरण उपशीर्षक फरक परेको वा प्रचलित कानून बमोजिम लाग्ने महसुल छुटेको कारणले कम महसुल असुल भएको देखिएमा महानिर्देशक वा भन्सार परीक्षकले त्यसरी कम असुल भएको महसुल असुल गरी सोही महसुल बराबर जरिबाना गर्नेछ।

(३) उपदफा (१) बमोजिम परीक्षण गर्दा निकासी वा पैठारी गरेको मालवस्तु घोषणा गरेको भन्दा भिन्न पाइएमा वा परिमाण घटी घोषणा गरेको पाइएमा र सो कारणले घटी महसुल असुल भएको देखिएमा महानिर्देशक वा भन्सार परीक्षकले त्यसरी फरक घोषणा वा परिमाण घटी गरे बापत लाग्ने महसुल असुल गरी दफा ५७ बमोजिम जरिबाना गर्नेछ।

(४) उपदफा (१) बमोजिम परीक्षण गर्दा सो उपदफाको खण्ड (क) बमोजिम घोषणा नगरी पैठारी गरेको पाइएमा महानिर्देशक वा भन्सार परीक्षकले त्यस्तो मालवस्तुको भन्सार मूल्यको पाँच प्रतिशत जरिबाना गर्नेछ।

तर मालवस्तुको प्रकृति अनुसार खुलाउन नसकिने किसिमका विवरण नखुलाएको आधारमा यस उपदफा. बमोजिम जरिबाना गरिने छैन।

(५) उपदफा (१) बमोजिम परीक्षण गर्दा सो उपदफाको खण्ड (च) बमोजिमको महसुल छुट सुविधा उद्देश्य विपरीत प्रयोग गरेको वा सम्बन्धित व्यक्तिले पैठारी नगरेको पाइएमा महानिर्देशक वा भन्सार परीक्षकले दफा ५७ को उपदफा (२०) बमोजिम जरिबाना गर्नेछ।

(६) उपदफा (१) बमोजिम परीक्षण गर्दा सो उपदफाको खण्ड (छ) बमोजिम मालवस्तुको नाप, आकार र एकाईमा एकरुपता नभएको पाइएमा महानिर्देशक वा भन्सार परीक्षकले त्यस्तो मालवस्तुको भन्सार मूल्यको पाँच प्रतिशत जरिबाना गर्नेछ।

(७) यस दफा बमोजिम परीक्षण गर्दा महसुल वा जरिबाना असुल गर्नुपर्ने देखिएमा महानिर्देशक वा भन्सार परीक्षकले महसुल र जरिबाना निर्धारण गरी सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई सोको जानकारी दिई सफाई पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ।

(८) उपदफा (७) बमोजिम जानकारी प्राप्त गरेपछि सम्बन्धित व्यक्तिले पन्ध्र दिनभित्र सफाई पेश गर्नु पर्नेछ।

(९) उपदफा (८) बमोजिम सफाई पेश भएमा सफाई पेश भएपछि वा सफाई पेश नभएमा सफाई पेश गर्ने म्याद नाघेपछि महानिर्देशक वा भन्सार परीक्षकले अन्तिम महसुल र जरिबाना निर्धारण गरी सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई सो बमोजिमको रकम दाखिला गर्ने आदेश दिनेछ। महसुल वा जरिबाना निर्धारण गर्नु पर्ने नदेखिएमा सोको जानकारी सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई दिनु पर्नेछ।

(१०)उपदफा (९) बमोजिम आदेश प्राप्त गरेको मितिले पैंतीस दिनभित्र त्यस्तो आदेश प्राप्त गर्ने व्यक्तिले सोही आदेशमा तोकिए बमोजिमको रकम दाखिला गर्नु पर्नेछ। उक्त अवधिभित्र रकम दाखिला नगरेमा त्यस्तो महसुल “तथा जरिबाना दाखिला गर्ने आदेश दिएको मितिदेखि वार्षिक पन्ध्र प्रतिशतका दरले व्याज समेत गणना गरी असुल गरिनेछ।

(११) उपदफा (१०) बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा निकासीकर्ता वा पैठारीकर्ताको निकासी वा पैठारी लगायतका कारोबार तथा चल अचल सम्पत्ति रोक्का गरी महानिर्देशक वा भन्सार परीक्षकले सोही सम्पत्तिबाट त्यस्तो रकम असुल गर्नेछ।

(१२) उपदफा (११) बमोजिम रकम असुल हुन नसकेमा त्यस्तो रकम सरकारी बाँकी सरह असुल गरिनेछ।

(१३) महानिर्देशक वा भन्सार परीक्षकले यस दफाको प्रयोजनका लागि आवश्यक देखेमा बैङ्क वा वित्तीय संस्था एवं निकासीकर्ता वा पैठारीकर्ताको कारोबारसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायबाट सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता, निजको कारोबार वा मालवस्तुसँग सम्बन्धित भुक्तानी, बैङ्क खाता, नाफा नोक्सानको हिसाब, कर विवरण, बीजक र यस्तै अन्य कागजात माग गर्न सक्नेछ। त्यसरी माग गरिएको हिसाब, कर विवरण, बीजक तथा कागजात उपलव्ध गराउनु सम्बन्धित व्यक्ति वा निकायको कर्तव्य हुनेछ।

(१४) उपदफा (१) बमोजिम परीक्षण गर्दा महानिर्देशक वा भन्सार परीक्षकले प्रमाण बुझ्न, सम्बन्धित व्यक्तिलाई बयान गराउन तथा लिखत, प्रमाण वा कागजात पेश गर्न लगाउन सक्नेछ।

(१५) उपदफा (१४) को प्रयोजनका लागि महानिर्देशक वा भन्सार परीक्षकले व्यक्तिगत वा सार्वजनिक रुपमा सूचना जारी गर्न सक्नेछ।

(१६) उपदफा (१५) बमोजिम जारी गरिएको सूचनाको म्यादभित्र उपस्थित नहुने वा माग भएबमोजिम लिखत, प्रमाण वा कागजात पेश नगर्ने निकासीकर्ता वा पैठारीकर्तालाई महानिर्देशक वा भन्सार परीक्षकले दफा ५७ को उपदफा (१५क) बमोजिम जरिबाना गरी निजको निकासी वा पैठारी सम्बन्धी कारोबार रोक्का गरी उपलव्ध भएसम्मका लिखत, प्रमाण वा कागजातका आधारमा परीक्षण गर्न सक्नेछ।

(१७) उपदफा (१६) बमोजिम परीक्षण गरिसकेपछि सो निकासीकर्ता वा पैठारीकर्ताका सम्बन्धमा पछि थप प्रमाण कागजात प्राप्त भएमा त्यस्ता प्रमाण कागजातका आधारमा यस दफा बमोजिम पुनः परीक्षण गर्न सकिनेछ।

(१८) यस दफा बमोजिमको परीक्षण मालवस्तु जाँचपास भएको मितिले चार वर्षसम्म गर्न सकिनेछ।

तर कुनै निकासीकर्ता वा पैठारीकर्ताले झुट्टा लिखत वा कागजात तयार गरी प्रचलित कानून बमोजिम लाग्ने भन्दा कम महसुल दाखिला गरेको प्रमाणित भएमा भन्सार परीक्षकले- महानिर्देशकको अनुमति लिई चार वर्षपछि समेत परीक्षण गर्न सक्नेछ।

(१९) यस दफा बमोजिम निकासीकर्ता वा पैठारीकर्तालाई महानिर्देशक वा भन्सार परीक्षकले दिने सूचना वा म्याद वा सफाई पेश गर्ने सूचना वा महसुल र जरिबाना दाखिला गर्ने आदेश सम्बन्धित व्यक्तिको इमेल ठेगानामार्फत पठाउन सक्नेछ। त्‌यसरी इमेल ठेगानामा पठाइएको सूचना, जानकारी वा आदेश निजले प्राप्त गरेको मानिनेछ।